बेसीशहरमा महिला मैत्री नीति, कार्यक्रम तथा बजेटका अवसर र चुनौतीबारे छलफल

मर्स्याङदी समाचार, ४ भदौ
बेसीशहरमा महिला मैत्री नीति, कार्यक्रम तथा बजेटका अवसर र चुनौती विषयक कार्यशाला तथा समीक्षा गोष्ठी भएको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसि) नेपालको साझेदारीमा बिहीबार बेसीशहर नगरपालिका सभाहलमा गोष्ठी आयोजना गरिएको हो ।
कार्यशालाको मुख्य उद्देश्य स्थानीय तहमा महिलाको नेतृत्वमा रहेका संस्थालाई सशक्त बनाउँदै निर्णय प्रक्रियामा महिलाको सहभागिता तथा समावेशिता बढाउनु, स्थानीय सरकारलाई पालिका स्तरका नीति, कार्यक्रम तथा योजना तयार गर्न र कार्यान्वयन गर्न सहयोग पु¥याउनु तथा महिला नेतृत्वका संस्था र स्थानीय सरकारबीच समन्वय र सम्बन्ध स्थापना गर्नु रहेको आयोजकले जनाएको छ ।
बेसीशहर नगरपालिकाका उपप्रमुख पदमा गुरुङको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा नगरपालिकाका कार्यक्रम संयोजक मेघेन्द्र पोख्रेलले स्थानीय तहको योजना तथा बजेट तर्जुमा प्रक्रिया, योजनाको सैद्धान्तिक अवधारणा, नतिजामा आधारित योजना तर्जुमा, लगानी, क्रियाकलाप, नतिजा, प्रभाव तथा प्रतिफलका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । उहाँले समष्टिगत, क्षेत्रगत, आवधिक तथा वार्षिक योजना निर्माणका प्रक्रियाबारे समेत जानकारी गराउनुभएको थियो ।
त्यस्तै, आरसिडिसिका संस्थापक अध्यक्ष राजेन्द्र बोहोराले महिला मैत्री नीति, कार्यक्रम तथा बजेट निर्माणमा महिला नेतृत्वका संस्था र स्थानीय सरकारबीचको सहकार्य तथा समन्वयका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो भने आरसिडिसिका कार्यक्रम संयोजक हेमराज विमलीले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा सहभागी महिलाहरुले महिला मैत्री नीति तथा बजेट प्रभावकारी कार्यान्वयनका लागि महिलाको वास्तविक आवश्यकता र समस्यालाई स्थानीय तहको योजना तथा बजेटमा प्राथमिकताका साथ समेट्नुपर्नेमा जोड दिएका थिए । महिला उद्यमीले उत्पादन गरेका सामग्रीको बजारीकरणमा समस्या रहेको, पर्याप्त बजेट उपलब्ध नहुँदा सोचेजति काम गर्न नसकिएको र महिला समूहले सञ्चालन गर्दै आएका आयआर्जनमूलक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट तथा प्राविधिक सहयोगको अभाव रहेको उनीहरुको भनाइ थियो ।
महिला समूहले व्यावसायिक रुपमा गर्दै आएको तरकारी खेती सिँचाइको अभावका कारण विस्थापित हुने अवस्थामा पुगेको भन्दै सहभागीहरुले सिँचाइ सुविधालाई प्राथमिकतामा राख्न माग गरेका थिए । त्यस्तै, समूहमा उत्पादन हुँदै आएको ‘सजिलो झोला’ का लागि आवश्यक सामग्री सहज रुपमा उपलब्ध हुन नसकेको र उत्पादन तथा बजारीकरणसम्बन्धी थप तालिम आवश्यक रहेको उनीहरुले बताएका थिए ।
यसैगरी, मौरीपालनसम्बन्धी तालिम लिए पनि त्यसपछिको अनुगमन तथा प्राविधिक सहयोग नपाएको, सीपलाई व्यवसायमा रुपान्तरण गर्न थप तालिम र नियमित अनुगमन आवश्यक रहेको सहभागी महिलाहरुले बताएका थिए । उनीहरुले महिलालाई तालिम दिएर मात्र नछोडी उत्पादन, बजारीकरण, अनुगमन तथा आवश्यक आर्थिक र प्राविधिक सहयोगको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।
सहभागी महिलाहरुले महिला उद्यमशीलता प्रवद्र्धन, सीप विकास, कृषि तथा पशुपालन, सिँचाइ, उत्पादनको बजारीकरण र आयआर्जनका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिनुपर्ने माग गरेका थिए । साथै, स्थानीय तहका नीति, कार्यक्रम तथा योजना निर्माणका क्रममा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका थिए ।
सहभागीहरुको जिज्ञासा तथा सुझावको जवाफ दिँदै नगर उपप्रमुख पदमा गुरुङले महिलाका समस्या र आवश्यकतालाई स्थानीय सरकारको नीति, कार्यक्रम तथा बजेटमा समेट्दै जाने बताउनुभयो । उहाँले महिलालाई आत्मनिर्भर बनाउन सीप विकाससँगै उत्पादन, उद्यमशीलता र बजारीकरणमा सहयोग आवश्यक रहेको उल्लेख गर्दै महिला समूहबाट आएका व्यावहारिक सुझावलाई आगामी योजना निर्माणमा प्राथमिकताका साथ समेट्ने प्रतिबद्धता जनाउनुभयो ।
महिला नेतृत्वका संस्था र स्थानीय सरकारबीच निरन्तर समन्वय र सहकार्य गर्दै महिलाको सहभागिता, समावेशिता र नेतृत्व विकासलाई थप प्रभावकारी बनाउने विषयमा पनि कार्यक्रममा जोड दिइएको थियो । आरसिडिसिका बजार संयोजक दुर्गा प्रसाद ढुङगानाले संचालन गर्नुभएको कार्यक्रममा २० भन्दा बढी महिलाको सहभागिता रहेको थियो ।

महिला तथा बालबालिकाको सेवामा सहजता थप्दै आरसिडिसि, दुई संस्थालाई सामग्री सहयोग
मर्स्याङदी समाचार, ७ भदौ लमजुङका महिला तथा बालबालिकाको संरक्षण, हेरचाह र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न संस्थालाई आवश्यक

त्रिवेणी युवा क्लबको खेलकुददेखि सामाजिक सहयोगसम्म ९६ लाखभन्दा बढी खर्च
खुशी माया गुरुङ ६ भदौ लमजुङको बेसीशहरस्थित त्रिवेणी युवा क्लबले आर्थिक वर्ष २०८२÷०८३ मा विभिन्न खेलकुद, सामाजिक, सांस्कृतिक तथा सामुदायिक

पत्रकार महासंघको भवन निर्माणमा त्रिवेणी क्लबको ५० हजार सहयोग
मर्स्याङदी समाचार, ६ भदौ लमजुङकै प्रतिष्ठित त्रिवेणी युवा क्लबले नेपाल पत्रकार महासंघ लमजुङ शाखाको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । शनिबार






प्रतिकृया दिनुहोस